डेरा खोज्दाखोज्दै घर नै उपहार « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

डेरा खोज्दाखोज्दै घर नै उपहार

Please follow & like us :)

17 March, 2026

थारु गाउँको चलन । प्राय सबैजना एउटै पुरानो घरमा बस्नुपर्ने । प्रमिला चौधरीले पनि विवाहपछि राप्ती गाउँपालिकाको लट्ठहवा गाउँमा त्यसैगरी संयुक्त परिवारमा नयाँ घरबार शुरु गरिन् ।
जव घर छुट्टिने कुरा भयो, त्यसपछि उनी घरवासविहिन भइन् । आफ्नो घर भएन, नयाँ घर बनाउने अबस्था थिएन । उनी परिवारसहित गढवा गाउँपालिका–४ कटियान गाउँस्थित माइती गाउँ फर्किन् । त्यसपछि उनको डेराको जीवन शुरु भयो । जीवनमा पहिलोपटक डेरा जीवन शुरु गरेकी थिइन् उनले । श्रीमान् श्रीमती मजदूरी गर्ने अनि दुई छोरीको पालनपोषण र पढाइलेखाई खर्च जुटाउने ।
यस्तै जीवन चलिरहेको थियो । श्रीमान् गम्भिस चौधरीलाई कानको समस्या देखियो । उनले उपचारको प्रयास गरिरहेका थिए तर एक्कासी के भयो कुन्नी आत्महत्या गरे । अब प्रमिलाको डेरा जीवन झन कष्टकर भयो । एक्लै डेरामा बस्ने अबस्था पनि भएन । कोठाभाडा तिर्न पनि समस्या हुन थाल्यो । त्यसपछि ६ बर्षको डेरा जीवनपछि उनी माइती घरमा गइन् । माइतीमा बस्न थालिन् ।
माइती घरमा सँधै बस्न सम्भव हुने कुरा पनि भएन । उनले ऋण गरेर गाउँमै ६ धुर जग्गा किनिन् । जग्गा किने पनि घर बनाउन त सम्भव थिएन । ‘कुनै दिन सकिएछ भने घर बनाउँला भन्ने थियो । नसके सानो झुप्रो भए पनि बनाएर बसौंला भन्ने थियो,’ उनले भनिन्,‘जीवन चलाउन कठिन भैरहेको बेला घर बनाउने सपना देखेर पनि भएन ।’
३३ बर्षीया प्रमिलाले जीवनको छोटो अबधीमै धेरै उतारचढाव भोगिन् । ठूली छोरी रोशिना २० बर्ष पुगिन् । उनले १२ कक्षा पास गरिसकेकी छिन् । कान्छि एलिना १४ बर्ष भइन् । उनी ९ कक्षा पढिरहेकी छिन् । बाल्य अबस्थामै विवाह गरेकी प्रमिला बाल्यकालमै आमा बनिन् । राम्ररी जीवन फक्रन नपाउँदै उनले जीवनका धेरै भारीहरु बोकिन् ।

डेराको जीवन, आर्थिक अभाव र सन्तानको जिम्मेवारीको भारीले थिचिरहेको बेला उनको जीवनमा एउटा अचम्मको खबर आइपुग्यो । उनले ऋण गरेर बनाएको जग्गामा घर बन्ने खबर । उनको लागि निकै अपत्यारिलो र अप्रत्याशित खबर थियो यो । ‘मेरो घर बनाइदिने रे भन्दा त मलाई पत्याउनै गाह्रो भयो । कसले बनाइदिन्छ अर्काको घर भन्ने लागेको थियो,’ उनले भनिन्,‘घर बन्न शुरु भएपछि त पत्याउनै प¥यो । अचम्म लाग्दालाग्दै घर बनेर तयार भयो ।’
उनको असहाय अबस्था देखेपछि ग्रामीण महिला उत्थान केन्द्रले निवास संस्थाको सहयोग र गढवा गाउँपालिकाको साझेदारीमा घर बनाइदिने योजना बनाएको हो । दुई कोठाको शौचालयसहितको भूकम्प प्रतिरोधात्मक पक्की घर निर्माण भएपछि उनको जीवनको रंग नै बदलियो । प्रमिलाको मुख्य आम्दानीको स्रोत मजदुरी हो । खेतीपातीको समयमा अधिया खेती लगाउँछिन् । अहिले पनि उनलाई ऋण तिर्नलाई मजदूरीको खोजीमा हिड्नुपर्छ । उनी सानी छोरीलाई छोडेर यसअघि पनि कामका लागि बिभिन्न जिल्लामा पुग्थिन् ।
अब घर भएपछि मजदूरीका लागि झनै सहज भएको छ । ‘पहिले घर नहुँदा त छोरीहरु छोडेर काममा जान्थें । अब त झन पक्की घर भैसक्यो,’ उनले भनिन्,‘काममा जान झन सजिलो भयो । छोरी एक्लै बस्ने बानी परिसकेकी छिन् ।’ उनलाई अहिले पनि विमा कम्पनीबाट लिएको २ लाख ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।
ऋण तिर्नका लागि कपडा पनि किन्न छोडेको उनले बताइन् । ‘मैले कपडा नकिनेको धेरै भैसक्यो । पुरानै कपडाबाट काम चलाएको छु,’ उनले भनिन्,‘कपडा किन्ने पैंसाले मेरो ऋण घट्दै जान्छ । नयँ कपडा नलगाए के हुन्छ र ?’ अब घर बनेपछि ऋण तिर्ने झनै आँट आएको उनले बताइन् ।

‘मेरो घर बनाउने काम अरुले नै गरिदिएपछि म आफ्नो ऋण त आफै तिर्न सक्छु नी भन्ने आँट आएको छ,’ उनले भनिन्,‘यसले झनै काम गर्ने आत्मबल बढेको छ । अब जसरी पनि ऋण तिरें भने जग्गा र घर मेरो हुन्छ । अनि मात्र मलाई सन्तोष मिल्छ ।’
प्रमिलाको घर निर्माणले उनको डेरा जीवनले मुक्ती पाएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले बताइन् । जसलाई घर चाहिएको छ, उसैलाई बनाइदिने योजनाले सार्थकता पाएको उनले बताइन् । ‘वास्तवीक रुपमा घरको अभाव भोगिरहेकाले घर पाएका छन्,’ उनले भनिन्,‘यसले लगानीको प्रतिफल देख्न पाइएको छ ।’
ग्रामीण महिला उत्थान केन्द्रले ४ लाख २५ हजार र गढवा गाउँपालिकाले २ लाख रुपैयाँको लगानी गरेर घर निर्माण गरेका हुन् । प्रमिलाको गृहप्रवेश कार्यक्रम धुमधाम भयो । उनको नयाँ घरको प्रवेश हेर्न जनप्रतिनिधि लगाएत धेरै मानिसहरु जुटेका थिए । छोरीसहित घरभित्र पस्दा उनको खुशीले सिमा नाघेको थियो ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले प्रमिलाको घर आशा र सम्भावनाको घर भएको बताए । ‘अब यस घरले थप आशा जगाउने छ । जीवनमा केही गर्ने प्रेरणा दिनेछ,’ उनले भने,‘हामीलाई पनि यस्ता काम गर्ने हौशला मिलेको छ ।’

गढवा गाउँपालिका वडा नं. ४ का अध्यक्ष राम भगत चौधरीले पनि असहाय एकल महिला र बालबालिकालाई लाभ हुने गरी घर निर्माण हुँदा लगानीको उचित उपयोग भएको बताए । प्रमिलाका छोरीको निःशुल्क शिक्षाका लागि पनि स्थानीय सरकारबाट पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026425