बुढेशकालको सहारा बन्यो नयाँ घर « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

बुढेशकालको सहारा बन्यो नयाँ घर

Please follow & like us :)

9 March, 2026

जीवनलाई बुढ्यौलीले छुँदै थियो । गढवा गाउँपालिका–५, कक्रहवाकी ५० बर्षीया जिवी विश्वकर्माको त्यती धेरै सपना थिएन । छोराछोरीलाई पालनपोषण गरी सके जती पढाउने र आफ्नो ज्यान पाल्ने । यती भए उनको जीवनको लक्ष्य पूरा हुन्थ्यो ।


श्रीमान् पर्शुराम बिकको १० बर्षअघि मृत्यु भयो । उनी श्रीमान्सहित कपिलवस्तुको चन्द्रौटामा बस्थिन् । दाउरा बेचेर जिविका चलाउँथिन् । नजिकै जंगलमा जाने, दाउरा काट्ने अनि बेचेर जीवन चलाउने । एक्कासी श्रीमान्ले आत्महत्या गरेपछि उनी एक्लो भइन् । श्रीमान्को आकस्मीक मृत्युको चोटसँगै आफन्त र गाउँसमाजको अपहेलनाले उनलाई झन् धेरै चोट लाग्यो । त्यसपछि उनी घरमा बस्न सकिनन् ।
उनी माइती घर सम्झेर गढवाको कक्रहवा फर्किन् । माइतीघरको छेउमा एउटा सानो झुप्रोमा बस्न थालिन् । छोरी अनिता १३ बर्षकी भइन् । उनी ६ कक्षा पढ्छिन् । छोरा आयुश १० बर्षका भए । उनी ४ कक्षा पढ्छन् । बुवाको मृत्यु हुँदा जन्मेका आयुश उनको कान्छो सन्तान हुन् ।

बास सुरक्षित नहुँदा उनलाई पीर थियो । तराईको ठाउँ, जंगलको नजिक, सर्प लाग्ने, पानी चुहिने । त्यही झुप्रोमा बसेर उनले मजदूरी गर्थिन् । छोराछोरी पाल्थिन् । छोराछोरी बिरामी भएर दुःख हुन्थ्यो, उनीहरुको उपचार गर्दागर्दै फेरी आफै बिरामी हुन्थिन् । मजदूरी गरेको पैंसाले कहाँ पुग्थ्यो र ? के खानु, के ले उपचार गर्नु ? यस्तै कष्टै कष्ट सहेर उनले जिविका चलाइरहेको बेला उनको नयाँ घर बनाइदिने योजना लिएर पुग्यो ग्रामिण महिला उत्थान केन्द्र ।
निवास र मेट लाइफ फाउण्डेशनको सहयोगमा असहाय एकल महिलाको घर बनाइदिने योजना लिएर केन्द्र जिवीको घर पुग्यो । संस्थाले ४ लाख २५ हजार रुपयाँ लगानी ग¥यो । त्यसमा गढवा गाउँपालिकाले २ लाख रुपयाँ थपेर सहकार्य ग¥यो । अनि जिवीको नयाँ पक्की घर बन्यो ।
जिवीका लागि यो अनौठो घटना थियो । ‘मैले कहिले सोचें हुँला के यस्तो । घर बनाउने कुरा कहिलै सपना, कल्पना कतै पनि आउँथेन,’ उनले भनिन्,‘मेरो लागि ग्रामिण महिला उत्थान केन्द्र भगवान बनेर आयो । मैले त भगवान भेटे जस्तो महशुस गरेको छु ।’

संस्थाले उनको घर मात्रै निर्माण गरिदिएन । संस्थामार्फत सञ्चालित भिटा परियोजना अन्तर्गत उनलाई दुई बाख्रा उपहार पनि दियो । गत बर्ष उपहार पाएको बाख्रा बढाएर अहिले चारवटा बनाएकी छिन् । ‘घर मात्रै होइन, घरमा बसेर खाने उपाय पनि संस्थाले सिकायो,’ उनले भनिन्,‘जंगल नजिक छ । बाख्रा पालेर खर्च चलाउन सकिन्छ । मजदूरी पनि गर्छु ।’
घर बनेपछि उनलाई थप काम गर्ने आँट आएको छ । दुईकोठे टिनको छानो भएको पक्की, भूकम्प प्रतिरोधात्मक घर र चर्पी पाएपछि उनका धेरै चिन्ता हटेका छन् । अब बर्षा, पानी, घाम सबै खालका मौसममा सुरक्षित महशुस गरेकी छिन् ।
घर हस्तान्तरण कार्यक्रमको रौनकले उनलाई झनै हर्षित बनायो । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरी, वडा अध्यक्षहरु, पत्रकार र अन्य सरोकारवालाहरुले धुमधामका साथ उनलाई गृह प्रवेश गराए । त्यो क्षण उनका लागि अविस्मरणीय बनेको छ ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026397