आशा र भरोसा बनेर आयो घर
19 Feb 2026
लाउँलाउँ खाउँखाउँको उमेरमा श्रीमान्ले संसार छोडे । घर बनाउने मिस्त्री काम गर्दै आएका घुमेश्वर चौधरीको चार बर्षअघि बिरामी भएर ज्यान गयो । त्यसपछि राजपुर गाउँपालिका–१ तप्दारपुरकी २५ बर्षीया निर्मला चौधरी एक्ली भइन् । साथ र आडभरोसा दिने कोही भएन ।

थारु समुदायको महत्वपूर्ण पर्व माघी नजिकिदै गर्दा उनले श्रीमान् गुमाएकी थिइन् । बुटवलमा काम गर्न गएको बेला बिरामी परे । जाँच गर्दा जन्डिसको समस्या देखियो । काम गर्न नसक्ने भएपछि उनी घर फर्के तर ठिक हुन सकेन । अनि उपचारका लागि नेपालगंञ्ज लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको थियो ।
श्रीमान्को मृत्युपछि तीन सन्तानको जिम्मेवारी उनी एक्लैले बोकिन् । सन्तान पाल्न उनले कति ढुंगा, बालुवा र गिट्टी बोकिन् । अनि त्यो भन्दा बढी बोकिन् निराशा र एक्लोपनको भारी । जस्तोसुकै भारीले पनि उनलाई थकाउन भने सकेन । श्रीमान्सँगै जानेको सिप मजदूरी नै थियो । त्यही कामलाई उनले निरन्तरता दिइरहिन् ।
जेठी छोरी अनिशा १३ बर्षकी भइन् । उनी ६ कक्षा पढिरहेकी छिन् । माइली अनुश्का ११ बर्षकी भइन् । उनी ५ कक्षा पढ्छिन् । कान्छी खुशी ९ बर्षकी भइन् । उनी ३ कक्षा पढ्छिन् । भत्कन लागेको घर, तीन छोरीको पालनपोषण अनि दिनहुँ काम खोज्दै हिड्नुपर्ने पिडाले उनलाई सताउनु सतायो । जे गर्दा पनि उनले थाक्न भने जानिनन् ।
माइली छोरी अनुश्कालाई थारु समुदायमा लाग्ने सिकलसेल रोग लाग्यो । जसका कारण उनलाई नियमित उपचार गर्नुपर्छ । उपचारका लागि जिल्ला सदरमुकाम घोराही पुग्नुपर्छ । निर्मला छोरी बोकेर घोराही पुग्छिन् । छोरीको उपचारका लागि पैंसाको जोहो गर्छिन् । आउनेजाने खर्च जुटाउँछिन् । आफ्नो काम छोड्छिन् । सकीनसकी छोरीको उपचार र घरको अन्य खर्च धानिरहेकी छिन् ।

आफू काम खोज्दाखोज्दै कता कता पुग्नुपर्छ । त्यतीबेला घरमा छोरीहरु एक्लै हुन्छन् । ‘आफूले काम नगरी हुँदैन । छोरीहरु पाल्नलाई पनि काम त खोज्नै प¥यो,’ उनले भनिन्,‘घरमा छोरीहरु एक्लै हुन्छन् । हेरिदिने कोही हुँदैन । यसले चिन्ता बढाउँछ ।’
एक दिनको कमाई ५ सय रुपयाँ हुन्छ । त्यतीले घरखर्च पु¥याउन हम्मेहम्मे पर्छ । छोरीको उपचारका लागि नियमित खर्च हुन्छ । घोराही पुगेर फर्कदा दुई हजार खर्च हुन्छ । प्राय उनी महिनामा एकपटक उपचारका लागि जान्छिन् । कहिलेकाहीं धेरैपटक पनि जानुपर्छ । उपचारमा जाँदा एकातिर खर्च हुन्छ, अर्कोतिर आफ्नो मजदूरी छुट्छ।
यस्तै छटपटी भैरहेको बेला ग्रामिण महिला उत्थान केन्द्र घरको कोशेली लिएर उनको पुरानो घरसम्म पुग्यो । असहाय एकल महिला र १६ बर्षमुनिका बालबालिकालाई लक्षित गरी निवास र मेट लाइफ फाउण्डेशनको सहयोगमा केन्द्रले घर निर्माण परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनाबाट उनको घर बन्ने निधो भयो।
त्यसपछि निर्मलाको घर बन्न शुरु भयो । दुई कोठे पक्की भवन र चर्पी बनेपछि उनी आफै दंग परिन् । राजपुर गाउँपालिकाले पनि घर निर्माणमा सहकार्य ग¥यो । अब आफू काममा जाँदा पनि छोरीहरु सुरक्षितसँग बस्न पाउने कुराले उनलाई सन्तोषको स्वास फेर्न मिलेको छ । ‘घर भएपछि अरु धेरै कुराको चिन्ता कम हुने रहेछ,’ उनले भनिन्,‘घरमा धेरै भरोशा र आशा अडेको हुने रैछ ।’

उनले यत्तीकै पुरानै घरमा जीवन बिताउने बिचार गरेकी थिइन् । नयाँ घरको सपना कहिलै देखिनन् । साँझविहान के खाने र छोरीहरुलाई कसरी पढाउने भन्ने मात्रै उनको चिन्ता थियो । घर कतिबेला भत्किन्छ भन्ने चिन्ता त थियो नै ।
बेलाबेला उनलाई नयाँ घर बनाउन पाए त सुरक्षित भइन्थ्यो भन्ने नलागेको त होइत तर उनको क्षमताले त्यो सम्भव थिएन । ग्रामिण महिला उत्थान केन्द्र, वडा कार्यालय र गाउँपालिकाले उनको घर निर्माणको योजना बनाए । असहाय एकल महिला र १६ बर्षमुनिका बालबालिका लाभान्वित हुने गरी घर निर्माणको परियोजना सञ्चालन भएकाले त्यसको लक्षित बर्गमा उनी परिन् । घर निर्माणपछि भव्य कार्यक्रमका बीच उद्घाटन गरियो ।
घर उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शरद बुढाथोकी, उपाध्यक्ष धनपतीदेवी यादव, वडा अध्यक्ष, सदस्य, ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरी लगाएत बिभिन्न सरोकारवालाहरुको उपस्थिती थियो । भव्य कार्यक्रमबीच घर हस्तान्तरण हुँदा निर्मलाको खुशीको सिमा नै थिएन । उनलाई जीवनको नयाँ अध्याय शुरु भए झैं लाग्यो ।
‘मैले नयाँ जीवन पाएझैं लाग्यो । सोच्दै नसोचेको कुरा मेरोसामु आयो । अरुले घर बनाइदिने कुरा मैले कहिलै कल्पना पनि गरेको थिइनँ,’ उनले भनिन्,‘असहायका पनि कोही हुने रैछन् भन्ने लाग्यो । घर बनेपछि मलाई छोरीहरु सुरक्षित रुपमा राख्न सहज भएको छ ।’ उनले जीवनमा नदेखेको सपना पूरा भएको छ ।






