जव कोही आयो विपनामा सपना बनेर
9 Feb, 2026
सात कक्षा पढ्दापढ्दै दुर्गा कुमारी चौधरीको मायाप्रेम बस्यो । अनि उनी माइतीगाउँ गढवा मात्रै होइन पढाइ समेत छोडेर कर्मघर राजपुर गाउँपालिका–६ गङ्गदीतर्फ लागिन् । उनका सपना नयाँ घरसँग जोडिए । पदम चौधरी जीवनभर साथ दिने गरी जोडिए ।

थारु समुदायमा संयुक्त परिवारको प्रचलन थियो । उनका तीन जना सासुससुराका परिवार एउटै घरमा बस्थे । थारु समुदायमा प्राय लामो आकारको घर हुन्थे । जसमा ठूलो परिवार मिलेर बस्नुपथ्र्यो । उनी पनि त्यसैगरी बसिन् । उनी जन्मजात अपांग थिइन् । अपांगता हुँदाहुँदै पनि उनले काम गर्न सक्थिन् । घरपरिवारलाई राम्रै भरथेग गरिरहेकी थिइन् ।
उनका दुइ छोरा र एक छोरी जन्मिए । कान्छो छोरा जन्मेपछि उनी बिरामी परिन् । हिड्न नसक्ने भइन् । त्यसपछि जीवनभर साथ दिने बाचा गरेका श्रीमान् पनि नजिक आउन छोडे । अन्तमा लामो समय सम्पर्कविहिन नै भए । उनको शरिर दिनप्रतिदिन कमजोर हुँदै गयो । छोरीले स्याहार गर्नुपर्ने अबस्था आयो । घरमा खानेकुरा जुट्न छोड्यो । उनी बेसहारा भइन् ।
सगोलमा बसेको ठूलो घर पनि फाट्ने भयो । पुरानो घर भत्काएर नयाँ घर बनाउने सल्लाह हुन थाल्यो । सबै भाइहरु आआफ्नो घर बनाउनतिर जुटे । दुर्गा भने घरबारविहिन हुँदै गइन् । भएको घर पनि भत्कियो । अनि उनी नजिकैको पानीको बोरिङ भएको सानो घरमा कोचिएर बस्न थालिन् । ‘विहान राम्रोसँग उज्यालो नहुँदै मानिसहरु पानी सिचाई गर्न आइपुग्थे । त्यतीबेला बोरिङघर छोडिदिनुपथ्र्यो,’ उनले भनिन्,‘कहिलेकाहीं बेलुका अवेरसम्म पनि घरभित्र पस्न पाइदैनथ्यो । त्यसैगरी डेढ बर्ष बिताएँ ।’

खानेकुरा नभएर छोराछोरी आफन्तको घरमा माग्न जान्थे । मागेर केही ल्याउँथे । आमाले छोराछारीको स्याहार गर्नुपर्ने समयमा उल्टै साना बालबालिकाले आमाको स्याहार गर्नुपर्ने अबस्था आयो । बोरिङमा बस्दाबस्दै हैरानी भएपछि फेरी उनी भत्केर केही बचेको पुरानो घरमा बस्न थालिन् । पानी, घाम, बर्षा, जाडो, जुन बेला पनि बसाई कठिन थियो । त्यती नै बेला दुर्गासामु कोही भगवान बनेर आइपुगे ।
उनलाई लाग्यो, यो सपना हो की ? तर होइन रहेछ । त्यो रहेछ विपनामै देखेको सपना । ग्रामिण महिला उत्थान केन्द्रले उनको घर बनाइदिने जिम्मेवारी लियो । दुर्गालाई यो कुरा पत्याउन निकै समय लाग्यो । यस्तो पनि हुन्छ र ? उनलाई अचम्म लागिरहेको थियो । अन्ततः हेर्दाहेर्दै सुन्दर घर बन्यो । सपनामा पनि नदेखेको घर ।
घर मात्रै बनेन । घर बन्दै गर्दा उनको नागरिकता बन्यो, अपांगता परिचयपत्र बन्यो । आफ्नो नाममा जग्गाधनी पूर्जा बन्यो । उनी घरको मात्रै होइन, जग्गाको पनि मालिक भइन् ।
दुर्गा बाल्यकालमा गाउँमै कमलरी बसेकी थिइन् । उनका ससुरा रमेशनारायण मुक्त कमैया हुन् । सरकारले मुक्त कमैया पुनस्र्थापनाका क्रममा दिएको पाँच कट्ठा जग्गा थियो । त्यही जग्गाबाट उनले २०३ बर्गमिटर प्राप्त गरिन् । अशक्त भएको बेला श्रीमान्ले छोडेर भाग्दा उनी निकै निराश भएकी थिइन् । ‘बाँच्छु जस्तो पनि लागेको थिइन,’ उनले भनिन्,‘मेरो जीवनप्रति कुनै पनि आशा थिएन । मैले हार खाइसकेको थिएँ ।’

घर बनेपछि, जग्गाधनी बनेपछि र अपांगता परिचयपत्र बनेर भत्ता पाउन थालेपछि उनको जीवनमा धेरै आशा जागेको छ । पहिले सम्पर्कविहिन भएका श्रीमान् पनि अहिले सम्पर्कमा आएका छन् । मजदूरीका लागि प्राय घरबाहिर हिडे पनि बेलाबेला घरमा आउँछन् । यसले उनलाई थप आशावादी बनाएको छ ।
ग्रामिण महिला उत्थान केन्द्रले निवासको सहयोगमा असहाय एकल महिला र १६ बर्षमुनिका बालबालिकालाई लक्षित गरी घर निर्माण कार्यक्रम थालेको थियो । दुर्गा त्यही कार्यक्रममा समेटिईन् र उनको चर्पी सहितको तीन कोठे पक्की घर बन्यो । उनको घरमा ह्विलचेयर गुड्न मिल्ने गरी ¥याम पनि बनाइएको छ । ह्विलचेयर पनि सहयोग पाएकी छिन् ।
घर निर्माणका लागि ग्रामिण महिला उत्थान केन्द्रले महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण र भूमिमा महिलाको स्वामित्व सचेतना कार्यक्रम अन्तर्गत ६ लाख ६५ हजार सहयोग गरेको छ । घरमा आबश्यक पर्ने अन्य सामग्रीहरु संस्थाका साथै व्यक्तीले पनि सहयोग गरेका छन् । उनको १२ बर्षको छोरा आदित कक्षा ६, ११ बर्षीया छोरी आकृति कक्षा ४ र ८ बर्षीय छोरा अमित कक्षा ३ मा पढिरहेका छन् । ३१ बर्षीया दुर्गालाई अब छोराछोरी पढाउन सक्ने आत्मबल पनि बढेको छ । हिड्डुल गर्न पनि सहज भएको छ । उनले समाजमा पनि सम्मानपूर्ण जीवन बिताउन पाएकी छिन् । असहाय हुँदा उनलाई सहयोग र सम्मान थिएन । अहिले सबैले उनका बिषयमा चासो दिन्छन् ।







