नयाँ र सुरक्षित घरको आशामा बसेका ईलावती र उनकी हजुरआमा
बुडो शरिर, झुकेर हिड्नुपर्ने, कान नसुन्दा एकोहोरो कि त ईशारामा बोल्नुपर्ने अवस्था छ त्यसैमाथि रोगब्याधीले दिनहुँ च्याप्दै लगेपछि आफनो रेखदेख र घरको खर्चपर्च जुटाउनलाई आफना नाती नातिनाले पढाई छोडे भन्ने छुट्टै पिरलो छ गढवा गाँउपालिका वार्ड नम्बर २ महदेवा निवासी कैलाशपती चौधरीलाई ।

८३ बर्षको बुडो शरिर, उमेरमा हुदाँ त निक्कै दुख सुख गरेर आफना ८ भाईबहिना छोराछोरीलाई हुकाईयो तह लगाईयो तर उमेर सँगै अहिले हातगोडा बस्यो, काम गर्न सकिदैन्, म साईलो छोरा सँग बस्दै आएको थिए तर छोरा बिरामी परेर उमेरमै बित्यो, बुहारीले पनि यो संसार छोडेर गईन् म सँग अहिले तिनै साईला छोरा बुहारीका (छोराछोरी) १५ बर्षकी नातिनि र १४ बर्षका नाती बस्छन् । यि अनाथहरुलाई पनि मैले पढाउन सकिन, म बिरामी भईरहने, हामी सँग प्रशस्त जग्गा जमिन र पैसा छैन् । बिहान र बेलुका के खाउ र लगाउको अवस्था छ, बिरामी भईरहन्छु औषधी उपचार गर्नै समस्या छ अनि पढन्लाई झन कहाँ बाट पैसा ल्याउनु? त्यसैले अहिले ८कक्षा पढ्दै गरेकी मेरी नातीनी र ५कक्षा पढ्दै गरेको नातीको पढाई छुट्यो, यो कुराले मलाई झनै पिडा दिन्छ भन्नुहुन्छ कैलाशपती चौधरी ।

नातीनी ठुली हुदैछ, औषधी उपचार र मेरो रेखदेखका लागि उस्ले पढ्न छोडी, घरखर्च चलाउने जोहोका लागि उस्ले घर बनाउने ठाँउमा लेबर काम गर्दै आएकी छ, नातीले जे काम भेटिन्छ त्यहि गर्छ, पढ्ने लेख्ने उमेरमा घरको जिम्मेवारी काधमा लिएका छन् , घरको चुलो र औषधी उपचार जततेन जुटेको छ तर पैसा अभावले आफनै बस्ने घरको अवस्था नाजुक छ, बर्षामा घरभित्र भल (पानी) पस्छ, खरले बारेको घर जहाँ सर्पले डस्छ कि भन्ने डर लाग्छ, त्यहिमाथि हुर्किदै गरेकी नातिनी डरै डरमा जिन्दगी चलेको कैलाशपतीले बताउनुभयो । नजिकिदै गरेका चाडपर्वहरु र गाँउघरमा धान काट्ने समय भएकाले कैलाशपतिको नातीनी ईलावतीले आजभोलि गाँउघरमै धान काट्ने काम गर्दै आउनुभएको छ, यस अघि ईलावती गाँउकै आफन्तीहरु सँग लागेर कामको खोजिमा प्युठान घर बनाउने काममा जानुभएको थियो। पढाई छोडेको ३महिना मात्रै भएको बताउने ईलावतीले आफुले बिद्यालयमा र जिल्ला तहमा भएका दौड् प्रतियोगीतामा प्रथम स्थान हासिल गरेर पाएका तक्मा र प्रमाणपत्रहरु हामीलाई देखाउनुभयो ।

पढ्ने मन त हो नि तर हजुरआमा बृद्ध हुनुहुन्छ, बिरामी भईरहनुहुन्छ हाम्रो वुवा आमा पनि हुनुहुदैन् , खानलाई त धौ धौ छ, पढ्नलाई झन कसरी हुन्छ ? त्यसकारण घर चलाउनका लागि भएपनि मैले र भाईले पढाई छोड्यौ, पढाई छुटेपछि बिद्यालय बाट सरहरु धेरैपटक घरमा आउनुभयो, पढाई नछोड भनेर आग्रह पनि गर्नुभयो तर के गर्नु, बिरामी यि बृद्ध हजुरआमाको औषधीउपचार, खाना खर्च र पढाई खर्चको गुजारा चलाउन निक्कै गाह्रो भएकै कारण मन थामेर पढाई छोडेको दुखेसो सुनाउनुभयो ।

भाईले यहि काम गर्छ भन्ने छैन् जे भेट्छ त्यहि काम गर्छ, तर म घर बनाउन प्युठान जादा १ महिनाको १५ हजार रुपैया लिएर घर फर्किएको हु, घरमा आफुहरु नहुने हो भने हजुरआमालाई पानी दिने मान्छे छैनन् हुन त छेउछाउमा सबै आफन्तीहरु हुनुहुन्छ तर सबैजना आ–आफनो काममा ब्यस्त हुने भएकाले कसैलाई कसैको वास्ता नभएजस्तै छ । यहि बसेको जग्गामा बनेको घर हजुरआमा र काकाहरुको नाममा छ, मान्छे धेरै छौ, जग्गा भनेको यहि बस्नका लागि बनेको घर बाहेक अन्त कहि छैन् । कालको जेठो कान्छो को हुन्छ थाहा त हुदैन् तर ८३ बर्ष पुगेकी बृद्ध हजुरआमा, २ दिनको घाँमछाया जस्तै लाग्छ, हजुरआमा हुदै यदि हामीलाई बर्षा (भल) सर्प किराकाटी र चिसो बाट बच्नका लागि सुरक्षित घर कसैले बनाईदिएमा हामीहरु सुरक्षित साथ बस्ने थियौ, बस्ने घर सुरक्षित भयो भने भोलिका दिनमा हामीहरुलाई काम गरेर गुजारा चलाउन सजिलो हुने थियो कि जस्तो लाग्छ भन्नुहुन्छ ईलावती, नयाँ र सुरक्षित घरको आशामा बसेका ईलावती र उहाँको हजुरआमाको सपना एक्दीन पक्कै पुरा हुनेछ ।







