जिल्ला समन्वय समिति राजपुर गा.पा.द्धारा भुकम्प प्रतिरोधात्मक घर, गृह प्रबेश, हस्तान्तरण र अनुगमन तथा अबलोकन
Jan 7, 2025
मिति २०८१ साल पौष १४ गतेका दिन ग्रामीण महिला उत्थान केन्द्र दाङ्खले जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा सहित राजपुर गाँउपालिकामा संञ्चालन भएको “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना” (SWFH) द्धारा निर्माण भएको भुकम्प प्रतिरोधात्मक घरको गृह प्रबेश, घर हस्तान्तरण र अनुगमन तथा अबलोकन गराएको छ ।

राजपुर गा.पा. १ कठबेरुवा निवासी जानकी चौधरीको नवनिर्मित घरको गृह प्रबेश, हस्तान्तरण बाट शुरु भएको कार्यक्रममा क्रमशः राजपुर गा.पा. ५ चंगुवामा निर्माण भएको कलावती यादब, राजपुर गा.पा. ७ लैबरुवामा निर्माण भएको देवा वलीको घरको गृह प्रबेश सँगै घर हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले ग्रामीण महिला उत्थान केन्द्रले ग्रामीण बस्तीमा एकल महिला, १६ बर्ष मुनिका बालबालिकाहरुका लागि सुरक्षित आवास निर्माण गरिदिएर पुण्यको काम गरेकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो ।

परियोजनाले महिलाहरुको भुस्वामित्व माथिको पहँुच र एकल महिलाहरुका लागि सुरक्षा जस्तो बिषयमा जोडिएको हुनाले पनि आगामी दिनमा संस्थाले ग्रामीण क्षेत्रमा रहेका धेरै घरबारबिहिन एकल महिलाहरुको लागि आवास (घर) निर्माण गरिदिन संस्थाका अध्यक्ष आसमानी चौधरी लाई अनुरोध समेत गर्नुभएको थियो । संस्थाले जिबिकोपार्जनको क्षेत्रममा तिन दशक देखी काम गर्दै आएको स्मरण गर्दै ति महिलाहरुलाई पनि आत्मनिर्भर बनाउन र उहाँहरुको बालबच्चाको शिक्षामा पनि संस्थाले सक्दो सहयोग गरिदिनका लागि अनुरोध गर्नुभएको थियो।

राजपुर गा.पा. अध्यक्ष शरद कुमार बुढाथोकीले संस्थाले SWFH परियोजना आफनो पालिकामा संञ्चालन गरेकोमा धन्यवाद दिदै परियोजना को उपलब्धी बाट प्रभाबित भएर निति तथा कार्यक्रममा आवासका लागि रकम बिनियोजन गरेको भनाई राख्नुभएको थियो । परियोजनाको लागतमा २ वटा र साझेदारीमा २ वटा घर निर्माण हुदा समुदायमा यसले राम्रो प्रभाव पारेको, आगामी दिनमा धेरै बजेट बिनियोजन गर्ने र संस्था सँग साझेदारीकै रुपमा यो कार्यक्रममा आफुहरु जोडिन चाहेको भनाई समेत राख्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष धनपती देबी यादबले बिगतका दिनमा पालिकाबाट महिलाहरुका लागि तालिम, सहयोगका अन्य कार्यक्रमहरु संञ्चालन गरेतापनि पालिका बाट छुट्याएको सानो रकमले महिला बालबालिकाहरुको घर निर्माण भई आँशु पुछने काम भएको र यो पुण्यको काममा पालिकालाई साझेदारीका रुपमा संस्थाले समन्वय गरेकोमा संस्थाका अध्यक्ष आसमानी चौधरीलाई धन्यबाद दिनुभएको थियो ।

ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले संस्थाले बिगत ३० बर्ष देखी समुदाय केन्द्रित रहेर महिलाहरुलाई आत्मनिर्भर र सशक्त बनाउने काम गर्दै आएको मा अहिले एकल महिला र बालबालिकाहरुको सुरक्षित बसोबाँसका लागि NIVAS सँगको साझेदारीमा SWFH परियोजना संञ्चालन गरी आवास (घर) बनाएको भनाई राख्नुभएको थियो ।

यस परियोजनाले घर मात्रै बनाएको छैन्, महिलाहरुलाई सम्पतीमाथी पहुँच बृद्धि गरेको छ। यस क्षेत्रमा संञ्चालन भएका अन्य परियोजनामा आवद्ध गराई आयआर्जन हुने क्रियाक्लापमा समेत सहभागी गराउने र निजहरुको बालबालिकालाई शिक्षामा सहयोगका लागि पहल गर्ने समेत भनाई राख्नुभएको थियो ।

कार्यक्रममा राजपुर गा.पा.का ७ वटै वडाका वडा अध्यक्ष, ईन्जिीयर, प्राबिधिक, लेखा अधिकृत, सुचना अधिकारी, कृषि शाखा प्रमुख, पशु तथा मत्सय शाखाका प्रमुख, भिटा परियोजनाका कार्यक्रम संयोजक, स्थानिय टोल बिकास समितिका अध्यक्ष, सामुदायिक बन समतिका सचिब, महिला समुहका अध्यक्ष र पत्रकारहरुको समेत उपस्थीति रहेको थियो ।










