“भकारो सुधारले व्यवसायमा सुधार”
8 August, 2024
राजपुर गाउँपालिका –४ दुलैया गाँउ, गाउँपालिका देखि करिब ७ कि.मि. पूर्व हुलाकी राजमार्गमा पर्दछ । यहाँका कृषकहरुको मूख्य पेशा भैंसी पालन र अन्नबाली रहेको छ । भैंसी पालन मूख्य पेशा भएतापनि कृषकहरुले परम्परागत शैलीबाट भैंसीपालन गरिरहेका छन् । भैंसीको संख्या धेरै भएपनि दुध उत्पादन एकदमै कमी रहेको छ ।

भैसीको लागि गोठ सुधार नभएको, पोषीलो घाँस दानाको अभाव, नश्ल सुधार नभएका स्थानीय भैंसीहरु रहेको र उत्पादीत दुधको उचित मूल्य पाउन नसक्नु यहाँका किसानहरुको प्रमुख समस्या रहेको छ । वर्षातमा भैंसी पालन गर्दा साह्रै समस्या हुने गथ्र्यो, आँगनमा घाँस दाना खुवाउन र भैंसी दुहुन गाह्रो हुन्थ्यो । हिले आँगन हुँदा घर भित्र पनि हिलो र फोहरका कारण झिँगा बढ्ने र बिरामी हुने झाडापाखालाको समस्याहरु पनि आउने गरेको उक्त स्थानका किसानहरुले बताए । बर्षातमा भैसी पाल्न धेरै मुस्किल हुन्थ्यो हिलोकिचोले गर्दा भैसीको स्याहार सुसार गर्न निकै समस्या हुने, घाँस दाना पानी दिन पनि दुख हुन्थ्यो, दुधमा हिलो पथ्र्यो, सफा दुध खान पनि सकेका थिएनौ तर भैसीको भकारो सुधार भएपछि भैसी पालन गर्न सजिलो भएको कृषकहरुको भनाई रहको छ ।

रामदुलारी यादव ग्रामीण महिला उत्थान केन्द्र, हेफर प्रोजेक्ट नेपाल र राजपुर गाउँपालिकाको साझेदारीमा संचालन भइरहेको भिटा परियोजना मार्फत गठन भएको सगरमाथा उपहार महिला समूहको सदस्य हुनुहुन्छ । यस समूहलाई भिटा परियोजनाले भैंसीको भकारो सुधारमा सहयोग गरेको छ । रामदुलारीले राजपुर गाउँपालिकाको रु.२५ हजारको सहयोग र आफ्नै रु.२२ हजार को लगानी गरी सुधारिएको भकारो निर्माण गर्नुभएको छ । परियोजनाको सहयोगपछि समुहमा आवद्ध अरु किसानको झै उहाँको पनि आयआर्जन बढेको छ । अहिले भकारो सुधार हुँदा दुध उत्पादन बढेको छ । हिलो किचोलोले गर्दा भैसीलाई समस्या थियो । हामी किसानलाई पनि हैरानी हुन्थ्यो अहिले सजिलो भएको छ उहाँले भन्नुभयो, गोवर टिप्न पनि सहज भएको छ । पहिले माटो र गोबर मिल्थ्यो गोबर हिलोले गर्दा खेर भएर जान्थ्यो । गोबरको पनि बचत भएको छ । अहिले त अब गोबर मात्रै टिप्छु र मोटर लगाएर दिनकै सफा गर्छु । घाँस पनि सबै भैंसीले खान्छ सजिलो भएको छ पहिला धेरै घाँस लाग्ने र हिलामा खेर जान्थ्यो अहिले भैंसीले सफा र सवै घाँस खान पाएका छन् ।

भैंसीको भकारो सुधार भएपछि भैंसी पालनमा सजिलो भएका कारण अहिले एक वटा भैसी पनि थप गरेको छु । पहिला भन्दा दुध पनि भैंसीले धेरै दिने गरको छ । अहिले रामदुलारीको गोठमा दुई वटा भैसी र १ वटा जर्सी गाई छन् । दुध बिक्रि बाट आएको आम्दानीले घर खर्च र छोरा छोरीलाई पढाउन सजिलो भएको छ । उहाँले सहकारीमा शेयर रकम जम्मा गरी मासिक रुपमा बचत पनि गरिरहनु भएको छ । दैनिक १५ लि. दुध बेच्ने गर्नु भएको छ । राम दुलारी भन्नुहुन्छ ग्रामीण महिला उत्थान केन्द्रले भकारो सुधार गर्न सहयोग गरेपछि अहिले भैंसी पालन गर्न निकै सजिलो भएको छ र हामी भैंसी पालन गर्नेहरुलाई उन्नत घाँस र दुध बिक्रि गर्न गाउँमै दुध संकलनको व्यवस्था भए भैंसी थप गर्ने योजना रहेको रामदुलारीले बताउनुभयो ।
गिरिराज भट्ट, राजपुर भिटा परियोयजना कार्यक्रम संयोजक






