बाख्रापालन व्यवसाय बाट आत्मनिर्भर बन्दै लालमती « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

बाख्रापालन व्यवसाय बाट आत्मनिर्भर बन्दै लालमती

Please follow & like us :)

21 August, 2024

राजपुर गाउँपालिका दाङ जिल्लाको सदरमुकाम घोराही देखि ४० कि.मि. दक्षिण पूर्व पश्चिम राजमार्गमा अवस्थित छ । भूगोलका हिसाबले सवैभन्दा ठूलो र विकट रहेको यस गाउँपालिकामा थारु, मधेशी, ब्राह्मण, मगर, क्षेत्री, दलित, मुस्लिम समुदायको बसोबास रहेको छ । कृषि तथा पशुपालनका लागी सम्भावना रहेको यस पालिकामा गाई भैंसी र बाख्रापालन ब्यवसाय नै मुख्य पेशाको रुपमा रहेको छ ।


परम्परागत रुपमा रहेको कृषि पेशालाई ब्यवसायिक पेशाको रुपमा स्थापित गरी त्यस क्षेत्रका किसानहरुको आयस्तर बृद्धि र उद्यमी बनाउने हेतुले ग्रामीण महिला उत्थान केन्द्र दाग, हेफर प्रोजेक्ट नेपाल र राजपुर गाँउपालिकाको साझेदारीमा कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना संचालन भईरहेको छ । राजपुर गाउँपालिका वडा नं. ७ सिक्टा बस्ने लालमति कुमालले पनि बाख्रापालन गर्दै आउनुभएको छ । उहाँको परिवारमा ४ जना सदस्य हुनुहुन्छ। राजपुर गाँउपालिकामा संचालन भईरहेको यस भिटा परियोजनाले स्थानीय स्रोत साधनको प्रयोग मार्फत कृषि र पशुपालनबाट गरिव र विपन्न परिवारहरु आवद्ध कृषि तथा पशुमा मौसम अनुकुलन उद्यम, वित्तिय सेवामा पहुँच, बजारसंगको सम्बन्ध विकास गरी व्यवसायिक तथा दिगो नाफामुलक उद्यमको रुपमा सुदृढिकरण गर्ने उद्देश्यका साथ विभिन्न क्रियाकलापहरु व्यवस्थित पशु पालन तालिम, खोर गोठ सुधार, उन्नत जातका बिउ बोका, नश्ल सुधार, प्राबिधिक परिचालन आदि क्रियालापहरु सञ्चालन गर्दै आईरहेको छ । लालमति कुमाल सयपत्री उपहार महिला समूहमा आवद्ध हुनुभएको छ ।

आधारशिला तालिम, पशु तथा श्रोतको उचित व्यवस्थापन तालिम प्राप्त गरेपछि उहाँमा परिवर्तन आएको छ, शुरुका दिनमा लालमति कुमालले अरुले जस्तै भूईमा बाधेर बाख्रा पाल्नुहुन्थ्यो र सरसफाई पनि राम्रो थिएन, पशुलाई खासै राम्रो संग पालनपोषण गर्नुभएको थिएन । तालिम पश्चात उहाँमा व्यवस्थित पशुपालन गर्ने ज्ञान सीप प्राप्त भई ब्यवासायिक बाख्रापालन गर्ने सोच आएको छ । परियोजनाबाट रु.२५ हजार र आफ्नो रु.३५ हजार लगानी गरी व्यवस्थित बाख्राको खोर निर्माण गर्नु भएको छ । खोर निर्माण का साथै बाख्राका लागि पोषिलो दाना, घाँस, नियमित रुपमा जुकाको औषधी खुवाउने गर्नुहुन्छ । बाख्राको नियमित रुपमा तौलको तुलना गर्र्ने, बाख्राको उत्पादनलाई निकै चासो दिने गर्नुहुन्छ । एउटा बाख्राबाट बाख्रापालन ब्यवसाय सुरु गर्नुभएकी लालमतिको खोरमा अहिले २४ वटा माउ बाख्रा, खसी, पाठापाठीहरु छन्। आर्थिक अवस्था कमजोर रहेकी लालमतीको यहि व्यवस्थित बाख्रा पालन शुरु पछि नै केहि सुधार हुदै आएको छ ।


परियोजनामा आवद्ध भएपछि लालमतीले बाख्रा बेचेको हिसाब किताब, अभिलेख राख्न शुरु गर्नुभएको छ। यसै बर्ष लालमतीले बाख्रा बिक्री गरेर वार्षिक २ लाख ५० हजार आम्दानी गरेको बताउनुभयो । अबका दिनमा बाख्रापालन ब्यवसायलाई बढाउदै लैजाने योजना रहेको बताउने लालमतीले परियोजना, संस्था र पालिकालाई धन्यवाद दिनुभएको छ ।

गिरिराज भट्ट, कार्यक्रम संयोजक

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022799