परम्परागतबाट व्यावसायिकतर्फ: कञ्चना चौधरीको आधुनिक तरकारी खेती यात्रा « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

परम्परागतबाट व्यावसायिकतर्फ: कञ्चना चौधरीको आधुनिक तरकारी खेती यात्रा

Please follow & like us :)

04 january 2026

परम्परागत रूपमा तरकारी खेती गर्दै आएकी लमही नगरपालिका–८, धनापुरुवा निवासी कञ्चना चौधरी अहिले आधुनिक प्रविधि अपनाउँदै व्यावसायिक रूपमा खेती गर्न थालेकी छन्। “पहिले परम्परागत तरिकाले तरकारी खेती गर्थ्यौं। ग्रामिण महिला उत्थान केन्द्रमार्फत गठन भएको हरियाली कृषक समूहमा आबद्ध भएपछि अहिले आधुनिक प्रविधिको प्रयोग गरेर खेती गर्न थालेका छौं,” कञ्चना बताउँछिन्।

थारु समुदायकी सामान्य कृषक कञ्चनाको परिवारमा पाँच जना सदस्य छन्। श्रीमान्–श्रीमती मिलेर तरकारी खेती गर्दै आएको यस परिवारले यसै व्यवसायबाट आफ्नो जीवन निर्वाह गर्दै आएको छ। यद्यपि, परम्परागत खेती प्रणालीमा सीमित ज्ञान, आधुनिक कृषि प्रविधिको अभाव, बजार पहुँचको कमी तथा व्यावसायिक योजनाको ज्ञान नहुँदा उनीहरू अपेक्षित आम्दानी लिन सफल भएका थिएनन्।

यही क्रममा, हेफर इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा ग्रामिण महिला उत्थान केन्द्रमार्फत “तरकारी मूल्य शृंखला मार्फत ग्रामिण महिलाहरूको प्रतिस्पर्धात्मक क्षमता विकास परियोजना” सञ्चालनमा आयो। दिपन सामाजिक उद्धमी महिला सहकारीको कार्यक्षेत्रमा परियोजनाले काम गर्न थालेको र उनि पनि सहकारीको  शेयर सदस्य भएकाले उक्त परियोजनामा सहभागी हुने अवसर पाइन् र हरियाली कृषक समूहमा आबद्ध भइन्।

परियोजनाअन्तर्गत कृषक व्यवसाय पाठशाला (Farm Business School–FBS) मार्फत उनले चरणबद्ध रूपमा विभिन्न व्यवहारिक तालिमहरू प्राप्त गरिन्। ती तालिमहरूमा उत्प्रेरणा विकास, बाली छनोट, व्यावसायिक योजना निर्माण, बाली पात्रो, जग्गा छनोट, नर्सरी व्यवस्थापन, प्लास्टिक घर निर्माण, बाली व्यवस्थापन, रोग–किरा पहिचान, एकीकृत कीट व्यवस्थापन (IPM), पोस्ट–हार्भेस्ट व्यवस्थापन तथा बजारीकरणजस्ता विषयहरू समेटिएका थिए। साथै, परियोजनाको सहयोगमा पहिलो पटक प्लास्टिक घर निर्माण गरी तरकारी खेती गर्ने अवसर पनि उनले पाइन्।

यी तालिम र सहयोगपछि कञ्चना चौधरीको सोच र खेती गर्ने अभ्यासमा उल्लेखनीय परिवर्तन आयो। परम्परागत खेती प्रणालीलाई परित्याग गर्दै उनले १० कठ्ठा जमिनमा व्यावसायिक रूपमा तरकारी खेती सुरु गरिन्। हाल उनी करेला, टमाटर, बोडी लगायतका विभिन्न तरकारी बालीहरू आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गर्दै आएकी छन्।

“परियोजनाबाट झोलमल, गड्यौला मल र सुधारिएको कम्पोस्ट मल बनाउन सिकेपछि अहिले विषादीको प्रयोग पनि कम गरेकी छु। यसले मेरो स्वास्थ्यलाई मात्र नभई उपभोक्ताको स्वास्थ्यलाई पनि असर नगर्ने कुरा बुझेकी छु,” कञ्चना भन्छिन्।

हाल प्लास्टिक घरभित्र गरिएको टमाटर खेतीबाट राम्रो बजार मूल्य पाएको र करिब एक लाख रुपैयाँ बराबरको टमाटर बिक्री गरिसकेको उनी सुनाउँछिन्। तरकारी खेतीबाट आम्दानी बढ्दै गएको र आगामी दिनमा अझै धेरै जग्गामा खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

“पहिले तरकारी खेतीबाट परिवार चलाउन गाह्रो हुन्छ कि जस्तो लाग्थ्यो, तर अहिले राम्रो आम्दानी भएको छ। विदेश गएर अरूको काम गर्नुभन्दा आफ्नै देशमा बसेर आफ्नै काम गरेकोमा खुसी छु,” कञ्चनाका श्रीमान् हाँस्दै भन्छन्।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394