नयाँ घरले दियो दुर्गालाई बाच्ने उर्जा र मुहारमा खुशी
8 Oct, 2025
मिति २०८२ साल श्रावण २७ गतेका दिन राजपुर गाँउपालिका वार्ड नंम्बर ६ गंगदी निवासी दुर्गा चौधरीको भुकम्प प्रतिरोधात्मक र अपांगमैत्री घरको गृह प्रबेश गराई घर हस्तान्तरण गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दागं र NIVAS संस्था सँगको साझेदारीमा दागं जिल्लाको राजपुर गाँउपालिकामा महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भूमीमा महिलाको स्वामित्व सचेतना/पैरबी परियोजना अन्र्तगत घर निर्माण गरि उहाँलाई घर हस्तान्तरण गरिएको थियो ।

बेहुली जस्तै गरी सिगारिएको घरको गृह प्रबेश तथा घर हस्तान्तरण कार्यक्रममा भावुक र हर्षित मुद्रामा देखीएकी दुर्गालाई गृह प्रबेश गराउदाँ उहाँको आँखा रसाएका थिए । कष्टकर जिबन भोगेकी दुर्गाको जिवन कहानी भने कहाँली लाग्दो छ, चरम गरिबी अभाव, साथमा ३ छोराछोरी, के खाने, के लगाउने अवस्था, ओत लाग्नलाई सिँचाईका लागि अरुले बनाएको सानो टहरो, यस्तै अप्ठ्यारो परिस्थीतिमा दुर्गाको जिबन गुज्रीरहेकै थियो तर अहिले दुर्गाको नाममा जग्गा छ, त्यहि जग्गामा बनेको २ कोठे घर, अट्याच्ड चर्पी र पसल गर्न मिल्ने एक कोठा सहितको भुकम्प प्रतिरोधात्मक र अपांगमैत्री घर परियोजनाको पुर्ण लगानीमा निर्माण गरी दुर्गालाई घर हस्तान्तरण गरिएको हो ।

३२ बर्षकी, शारिरिक रुपमा अशक्त दुर्गा बिरामी भएपछि घरपरिवार, गाँउटोलले हेला गथ्र्यो, दुर्गा बिरामी भएपछि टाढिएका उनका श्रीमान्ले घरको कुनै जिम्मेवारी कहिल्यै निर्वाह गरेनन् । ओछ्यान बाट उठ्न र बस्नलाई समेत अरुको सहारा चाहिने दुर्गाको जेठो छोरा १२ बर्ष, छोरी ७ बर्ष र सानो छोरा ५ बर्षका छन् । पढ्दापढदै आफै भागेर बिहे गरेकी दुर्गाको बिहे अघिको शरिर स्वास्थ्य, राम्रो र फुर्तीलो थियो ३ वटा बच्चा जन्मीएपछि ईटाभट्टामा काम गर्दै गर्दा खुटा दुख्ने पिडा बाट शुरु भएको दुर्गाको समस्या अहिले हिड्नलाई लौरीको सहारा चाहिन्छ । गरिबी अभावले औषधी गर्नलाई नेपालगंज सम्म जान नपाएकी दुर्गालाई राम्रो ठाँउमा उपचार गर्न पाए सन्चो हुन्थ्यो कि भन्ने लाग्छ रे, सोचेर मात्रै सबै कुरा पुरा नहुने यो जिन्दगी तर अहिले दुर्गाको नाममा जग्गा छ त्यहि जग्गामा दुर्गाको बस्ने घर बनेको छ । कसरी यो सम्भव भयो त भनेर सोध्दा दुर्गा आफैलाई पनि सपना जस्तो लाग्छ भन्दै आफनो अतितमा फर्किनुभयो ।

“गतवर्ष NIVAS संस्था, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष ज्यु र राजपुर गाँउपालिकाको टिम मेरो घरमा आउनुभएको थियो, मेरो सम्पुर्ण अवस्था बुझेर उहाँहरु फकिर्नुभयो तर ग्रामीण महिला उत्थान केन्द्र बाट बारम्बार आई नै रहनुभयो, उहाँहरु आएपछि नै हो मैले नागरिकता बनाए, नागरिकता बनेपछि अपांगता परिचयपत्र बनाए, अपांग परिचयपत्र भएपछि सरकारले दिने केहि रकम भत्ताको रुपमा पाउन थाले त्यो कुराले मलाई बाच्ँनका लागि केहि सहज बनायो, त्यसपछि मैले सोचे, ग्रामीण महिला उत्थान केन्द्र बाट आउनु भनेको मेरो भाग्य बदल्नकै लागि आउनुभएको छ भन्ने कुराको मलाई बिश्वास भयो, मेरो घरपरिवारका ३ पुस्ता ले नै अंशबण्डा गरेका छैनन् तर बकसपत्र मार्फत पटकपटक वडा कार्यालय, गाँउपालिका मा ग्रामीण महिला उत्थान केन्द्रले सहजीकरण गरिदिएपछि मेरो नाममा जग्गा पास भएको हो । मेरो नाममा जग्गा आएपछि अहिले मलाई बस्नलाई सुबिधाजनक घर बनाईदिनुभएको छ । घर मात्रै बनेन, मलाई चर्पी जानलाई समस्या थियो, अहिले घर भित्रै चर्पी बनेको छ, यस्ले मलाई निक्कै सजिलो भएको छ ।

हाम्रो समाज अनि हामीहरु पनि अचम्मका छौ जस्तो लाग्छ, कुनै समय थियो, म भोकै हुन्थे घरपरिवारले समेत खाई कि नाई भनेर वास्ता गर्दैन् थियो, तर आजभोलि छरछिमेकले पनि खाना खायौ कि नाई भनेर सोध्छन्, मेरो घरको आगँनमा आएर मसँगै बसेर कुरा गर्छन्, मेरो काममा सहयोग गर्छन्, समुहमा बस्ने हो भनेर सोध्न आउछन्, गाँउ टोलमा केहि कार्यक्रम आयो भने मलाई लिएर जाने गर्छन्, मेरो नाममा जग्गा आएर घर बनेपछि घरपरिवारका अन्य सदस्यहरुले पनि मलाई शुरुका दिनमा भन्दा अहिले गर्ने ब्यवहार निक्कै सम्मानजनक छ, म अपांग भएपनि मलाई गर्वले बाँच्न पाएको अनुभुती प्राप्त भएको छ, मलाई धेरै कुरा ग्रामीण महिला उत्थान केन्द्र र NIVAS संस्थाले दियो अनि सिकायो । अहिले म अत्यन्त खुसी छु ।

ग्रामीण महिला उत्थान केन्द्र दागं र NIVAS संस्था सँगको साझेदारीमा दागं जिल्लाको राजपुर गाँउपालिकामा महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भूमीमा महिलाको स्वामित्व सचेतना/पैरबी परियोजनाको पुर्ण लगानीमा निर्माण गरिएको भुकम्प प्रतिरोधात्मक तथा अपांगमैत्री घरको गृह प्रबेश तथा घर हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले परियोजना बाट घर मात्रै नभई घर भित्रका लागि आवश्यक फर्निचरका सामाग्रीहरुः खाट २ वटा, फाईबर सिरक २ थान, डसना २ थान, सिरानी २ थान, तन्ना २ थान, दराज १ थान सहितको सामाग्री दुर्गालाई हस्तान्तरण गरेको बताउनुभएको थियो । राजपुर, गढवा गाँउपालिका र यस बर्षदेखी घोराही उपमहानगरपालिका सँग पनि परियोजनाले कार्यक्रम संञ्चालन गर्न लागेको भनाई राख्दै यस वर्ष राजपुर र गढवा गाँउपालिकामा जम्मा ७ वटा घर निर्माण गरिने करिब ४०० जना महिलाहरुलाई भूमि तथा आवास सम्बन्धी साक्षर बनाउनका लागि तालिमको आयोजना गरिने भनाई राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै राजपुर गाँउपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले संस्थाले गतवर्ष देखी पालिका सँग समन्वय र साझेदार मार्फत समुदायमा रहेका बिपन्न समुदायका एकल महिला, १६ बर्ष मुनिका बालबालिकाहरुका लागि सुरक्षित आवास र चर्पी निर्माण गरी हस्तान्तरण गर्दै आएकोमा आगामी दिनमा अझ धेरै घरहरु निर्माण गर्नका लागि साझेदारी मार्फत काम गर्न आफुहरु प्रतिबद्ध रहेको भनाई राख्नुभएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष धनपती देबी यादबले घरबारबिहिन महिला तथा बालबालिकाहरुका लागि घर निर्माण गरी हस्तान्तरण गर्न पाउदा संस्थाप्रति आभार ब्यक्त गर्दै धेरै भन्दा धेरैको घर निर्माण गर्नका लागि पनि संस्थालाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष, वडा सचिब, टोल बिकास संस्थाका अध्यक्ष, टोलबासीहरु, छरछिमेकी लगायत दुर्गाको घरपरिवारहरु समेत उल्लेख्य सहभागिता रहेको थियो ।


यो घर भत्कीएपछि, अन्य ब्यक्तिको सिचाई घरमा बसोबास गर्दै आउनुभएको थियो ।

अन्य ब्यक्तिको सिचाँई घरमा बसोबाँस गर्दा


अहिले बनेको नयाँ घर भुकम्प प्रतिरोधात्मक तथा अपागंमैत्री



