दुखाई ब्यवस्थापना अभिमुखीकरण कार्यक्रम :
पृष्ठभुमी
सिकलसेल अर्थात हसिया आकारको सेल वा मानिसको रगतमा हसिया आकारको रक्तकोष देखिने रोगलाई सिकलसेल एनिमिया रोग भनिन्छ । तथ्यांकको हिसावले बिशेषत थारु जातिमा यो रोग देखा परेको छ यो बंशानुगत सर्ने रोग हो । थारु जातीको बाहुल्यता रहेको दाङ्ग, बाँके , बर्दिया, कैलाली र कन्चनपुर जिल्लाका थारु समुदायमा सिकलसेल एनिमिया रोग देखा पर्दै आएको छ । सिकलसेल भए नभएको पुष्टि गर्न रगत परिक्षण गर्नुपर्ने तर रगत परीक्षण गर्नका लागि जिल्लाका अस्पतालमा हाल हेमोग्लोविन इलेक्ट्रोफोरेसिस उपकरण भएपनि उक्त रोग परिक्षणका लागि लाग्ने केमिकल खरिद गर्ने रकम अभाव र लाभान्वित परिवारको अत्यन्त दयनिय अवस्था भएकै कारण दाङ्ग र बाँके जिल्लाका बिरामीहरु रगत परिक्षण गर्ने कार्यका लागि समस्या भोग्दै आएका छन, यस बिषयलाई ध्यानमा राख्दै मेटलाईफ ईन्सोरेन्स नेपालको सहयोगमा ग्रामीण महिला उत्थान केन्द्रले मिति २०८१ पौष १५ गतेका दिन दाङ जिल्लाको लमही नगरपालिका वार्ड ८ स्थिीत स्वास्थ्य चौकीमा निःशुल्क सिकलसेल एनिमिया चेकजाँचका लागि स्वास्थ्य शिबिरको आयोजना गरेको थियो । १दिने निशुल्क स्वास्थ्य शिबिरमा ५सय७४ जनाले सेवा लिदा ७८ जना सिकलसेलका बिरामीहरु पहिचान हुनुभएको थियो । त्यसो त सिकलसेलका पीडितलाई सरकारले एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । उपचारमा सरकारी सहयोगले केही राहत भए पनि सिकलसेल बारे राम्रो ज्ञान तथा सचेतना नभएको कारण सिकलसेल प्रभाबितहरुले धेरै पैसा खर्च गर्नुपर्ने र अकालमा ज्यान गुमाउनुपर्ने तथ्यांक रहेको जानकारहरु बताउछन् ।
दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम :
ग्रामीण महिला उत्थान केन्द्र दाङ्गले मिति २०८३ साल अषाढ ०४ गते (जुन १८, २०२६) बिहिबारका दिन सिकलसेल प्रभावितहरुका लागि दुखाई ब्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष पूनम घर्ती मगरको आतिथ्यतामा शुरु भएको कार्यक्रममा सिकलसेलका बिरामीहरुले दुखाई ब्यवस्थापन गर्नका लागि अपनाउनुपर्ने सावधानी तथा भुमिकाहरुको बारेमा अभिमुखीकरण गराईएको थियो ।
यस पृथ्बीमा जन्म र मृत्यु शाश्वत धु्रबसत्य रहेको र यस्लाई कसैले फेर्न नसक्ने भएकाले सामान्य मानिस र सिकलसेलका बिरामीहरुले खानपान र आहारबिहारमा ध्यान दियो भने जिवन बराबरी नै बाच्न सकिने हुदा हतोत्साही नहुनका लागि उपस्थीत सहभागीहरुलाई सतबरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी दिपक चौधरीले सहजीकरण गर्नुुभएको थियो । सिकलसेलका बिरामीहरुले दुखाई कम गर्नका लागि बिशेषतः खानपीन र आहारबिहारमा ध्यान दिनुपर्ने बताउदै शरिरको दुखाई पानीले कम हुने हुदा सामान्य मानिसले पिउने पानी भन्दा सिकलसेलका बिरामीहरुले दुई गुणा बढी पानी पिउनुपर्ने, दुखाई बढी भएमा स्वास्थ्यचौकी जानुपर्ने र डाक्टरले दिएको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्ने बारे सहजीकरण गर्नुभएको थियो ।

सिकलसेलका बिरामीहरुलाई रगत चढाउनुपर्ने हुन सक्छ, श्वास प्रश्वासमा सहजताका लागि अक्सीजन दिनुपर्ने अवस्था पनि आउन सक्छ तर्सथ बिरामीहरुको अवस्था हेरेर तुरुन्तै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा लैजानुपर्ने बारे स्वास्थ्यकर्मी चौधरीले सहजीकरण गर्दा जानकारी गराउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा सिकलसेल प्रभावितहरुले जिज्ञासाहरु समेत राख्नुभएको थियो, जस्तो :- महिनावारीमा हुने दुखाई, गडबडी, थाईरोइड, सुगर रोग लागेका सिकलसेलका बिरामीहरुलाई मात्रै रगत चढाउनुपर्ने हुन्छ वा के हुन्छ पालैपालो प्रश्न सोध्नुभएको थियो भने ति प्रश्नको जवाफ अन्तरक्रियात्मक तरिकाले चौधरीले प्रष्ट पार्नुभएको थियो ।

दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पूनम घर्ती मगरले आजको यो दुखाई ब्यवस्थापन कार्यक्रम बाट आफुले सिकलसेल के हो भनेर प्रष्ट थाहा पाएको भनाई राख्दै यदि बिबाहकुण्डलीको प्रयोग गरेर बिबाह गरियो भने सिकलसेल न्युनिकरण गर्न सकिने र यस्ता कार्यक्रमहरु गाँउसमुदायमा सरकारले निशुल्क रुपमा संञ्चालन गर्नुपर्ने सुझाव राख्नुभएको थियो । साथै आगामी दिनमा पुनः यस्ता कार्यक्रम संञ्चालन भएमा सहकारीले पनि पुर्णतः सहयोग गर्ने भनाई राख्नुभयो ।

संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस संस्थाले समुदायको उत्थान र सशक्तिकरणका लागि बिबिध कार्यक्रमहरु संञ्चालन गर्दै आएको बताउनुभएको थियो । संस्थाले समुन्नत समाजको सिर्जना गर्नका लागि हरेक नागरिकहरु स्वास्थ्य हुनुपर्ने मा जोड दिनुभएको थियो । शिबिर संञ्चालन पश्चात यस क्षेत्रका नागरिकहरुलाई सेवा दिन पाउँदा अधिकांश बालबालिकाहरु अर्थात भोलिको दिनमा देश बिकासका कर्णधार ति कलिला बालबालिकाहरुको लागि केहि गर्न सके अत्यन्त पुण्यको काम हुने र त्यसका लािग आफूले पनि पहल गर्ने जानकारी गराउनुभएको थियो ।

सहकारीका बजार ब्यवस्थापक हरिनारायण चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संञ्चालन सूचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।





