दिशुलाई नयाँ घरले दिएको खुशी :
April 9, 2025
गढवा गाउँपालिका—५ बाँकी निबासी ३३ वर्षिय दिशु चौधरी आफ्ना दुईवटी छोरीहरु रितु र रेवीकासंग बस्दै आउनु भएको छ । घरको आर्थिक अबस्था निकै नै कमजोर भएकाले साना नाबालक छोरीहरुसंग एउटा सानो झुपडी घरमा बस्न बाध्य थियो । २ कट्ठा जग्गामा सानो टिनले छाएको भुइतलाको माटोको घर थियो । जुन घर वर्षामा पानी चुहिने मात्र नभएर विषाला सर्पहरु देखिने भएकाले धेरै समस्या भोग्नुपरेको थियो ।

१४ वर्षको कलिलो उमेरमा विवाहबन्धनमा बाधिएकी दिशुको श्रीमान् घर बनाउने मीस्त्री काम गनुृहुन्थ्यो भने दिशु पनि ज्यालादारीमा मजदुरी काम गर्दै आउनुभएको थियो । दुबैको ज्याला मजदुरीबाट कमाएको पैसाले बलियो घर बनाउने र दुईवटी छोरीलाई राम्रो शिक्षा दिएर अगाडी बढाउने सपना थियो । तर त्यो सपना सोचेजस्तो भएन ।

काम गर्दै जाने क्रममा दिशुको श्रीमान्को नाक र मुखबाट रगत बग्ने, पेट दुख्ने र खान मन नलाग्ने समस्या देखिएकाले दिशु चिन्तामा पर्न थाल्नुभयो । ज्याला मजदुरीबाट थोरै थोरै गर्दै बचाएर राखेको पैसाले श्रीमानको उपचार गर्दा रिपोटमा जन्डीस देखियो । त्यसपछि उपचार त भयो तर निको भएन । धेरै लामो समय सम्म यही रोगबाट पिडीत भएका उनका श्रीमान् को २०७४ साल फागुन ३ गते मृत्यु भयो ।

श्रीमान्को निधन भएपछि दिशुको अझ धेरै कठीनाईका दिनहरु सुरु भए । कुनै आयस्रोत नभएकाले दुईवटी छोरीलाई पालन पोषण र शिक्षा दिनमा हम्मे हम्मे भयो । सरकारबाट एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता बाफत मासिक २हजार रुपैयाँले उहाँलाई थोरै राहत भयो ।

सानो झुपडीमा बस्दै आएका दिशु र उनका छोरीहरुलाई त्यस झुपडीको पनि सारै चिन्ता थियो । घर मर्मत गर्नलाई पैसा थिएन । बस्ने घर सुरक्षीत नहुँदा पिरै पिरमा दिन काटिरहेको बेला ग्रामीण महिला उत्थान केन्द्र दाङ ले भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि छनौट गर्यो । “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना” अन्र्तगत २ कोठे भुकम्प प्रतिरोधात्मक घर निर्माण भई सो परिवारलाई घर हस्तान्तरण भईसकेको छ ।

यसरी नयाँ घर प्राप्त गर्दा दिशु लगायत दुई छोरीहरुको मुहारमा खुशी छाएको छ । जीबनमा यस्तो घरमा बस्न पाउँछु भनेर कल्पना पनि गरेको थिएन अहिले सोंचेको भन्दा बलियो, राम्रो र सुघ्घर घर पाएँ खुशी छु । वर्षौदेखि बलियो घरमा बस्ने सपना ग्रामीण महिला उत्थान केन्द्रले पुरा गरेको छ । अब म लगायत दुईवटी छोरीहरुको नयाँ जीवनको सुरुवात हुन्छ भनेर दिशुले संस्था र NIVAS परिवारलाई धन्यवाद दिदै उत्तरोत्तर प्रगतीको कामना पनि गर्नुभयो ।






