समुदायमा परिचित हुँदै पुनम
November 21, 2023
कुनै समय छोरी छोरी मात्र सन्तान जन्मिए भनेर निक्कै चिन्तित थिए, राजपुर गाँउपालिका वडा नं. ३, खरदरिया निवासी सुनिता यादव र उनका श्रीमान नेप बहादुर यादव । घरपरिवारका सदस्य र गाँउ समाजका व्यक्तिहरुले पनि अपहेलना गर्ने गर्दथे तर अहिले तिनै छोरीले गरेको कामले समाजमा छाती फुलाएर गर्व गर्ने बनाएको छ, यादव दम्पतीलाई, कृषि पेशामा तल्लीन बिशेषतः भैसीपालन गरेर आफ्नो दैनिकी चलाउँदै आएका यादव परिवारको ३ छोरी र २ छोराहरु, गरि जम्मा ७ जनाको परिवार छ । छोराहरु सानै छन तर अहिले घर व्यवहारको सम्पूर्ण कामकाज जेठी र माइली छोरीले धान्दै आएका छन ।
“छोरीहरुको नामले समुदायमा चिनिन पाउँदा खुशी लाग्छ, छोरीलाई पनि पढाउनु पर्छ भनेर श्रीमतिले जिद्धी नगरेको भए छोरीहरुको सानै उमेरमा विवाह गरि दिन्थे होला, मेरीे श्रीमति निरक्षर भए पनि निक्कै बुद्धिमान छन् , छोराछोरी भनेका समान हुन् , उनीहरुलाई अवसर दियो भने केहि गरेर देखाउन सक्छन्” भन्नुहुन्छ नेप बहादुर यादव । “आफू छोरी भएकै कारण सानै उमेरमा विवाह गरि पठाईदिए, त्यसपछि घरधन्दा र बर्षेनी बच्चा जन्मीए, घरपरिवारले छोरी छोरी मात्रै भए दाईजो धेरै दिनु पर्छ भनेर घरबाटै निकालि दिए, गाँउलेहरुले पनि छोरी मान्छे अर्काको घर जाने जात, पढाएर पैसा खर्च गर्न हुदैन भनेर सुनाउने गर्थे, तर नपढेकै कारण अनेकौ दुःख र बचन सहेर बस्नु प¥यो, यदि म पढेको हुन्थे भने केहि काम त पाउने थिए भन्ने लाग्थ्यो त्यसैले छोरीहरुले म जस्तै दःुख नपाउन भनेरै श्रीमानसँग जिद्धी गरेर, उनीहरुलाई पढ्नबाट कहिल्यै बञ्चित गरेन“ भन्नुहुन्छ सुनिता यादव । हो यहि यादव परिवारमा माईली छोरीको रुपमा जन्मिएकी हुन पुनम यादव ।
राजपुर गाँउपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा बिगत ९ महिना देखि सञ्ंचालनमा रहेको कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाको सामुदायिक सहजकर्ताको पदमा कार्यरत हुनुहुन्छ । स्नातक तह दोश्रो बर्षमा अध्ययनरत यादवलाई आजभोलि आफैमा आत्म विश्वास, जोश जाँगर बढेर आएको छ साथै आफूले पाएको जिम्मेवारीसँगै घरपरिवार र समाज प्रति पनि मेरो उत्तरदायित्व छ भन्ने कुरा बुझदै र जिम्मेवारी निभाउदै आउनुभएको छ ।
“शुरुका दिनमा समाजका अगाडि उभिएर बोल्न धक, डर लाग्थ्यो, निर्धक्क आफना कुराहरु राख्न सकिदैनथ्यो र झनक्क रिसाउने बानी थियो, तर आजभोलि यि सबै कुरामा परिवर्तन आएको छ, स्थानिय पालिकाको सामु आफना तथा परियोजनाका कुराहरु निर्धक्क राख्न सक्ने भएकी छु, परियोजनाबाट गठन गरिएका ६ वटा मूल समुह र उपहार समुहमा तालिम संञ्चालन गर्न सक्ने भएकी छु ।
परियोजनाबाट प्राप्त गरेको आधारशिला तालिम र संस्थाले सिकाएको अनुशासनले आफुमा धेरै सकारात्मक परिबर्तन आएको हो” भन्नुहुन्छ पुनम । छोरीहरु अर्काको घर जान्छन स्कुल पठाउन हुदैन् भन्ने छिमेकीहरुले समेत आजभोलि केहि काम गर्नु परे बोलाएर सरसल्लाह लिन थालेका छन । आफनो बुवा साउदीमा ५ बर्ष काम गरेर घर फर्किएपछि बुवाको अहिलेको मुख्य पेशा भैसीपालन र तरकारी खेती नै रहेको छ, यहि पेशाबाट भएको आम्दानीले घरको जोहो र पढाई लेखाईको खर्च टर्दै आएको थियो ।
अहिले आफू परियोजनामा र ठूली दिदि स्थानीय विद्यालयमा पढाउन थालेपछि बुवा आमाको जिम्मेवारीमा सहयोगी भुमिका निभाउन थालेका छन् । परियोजनामा काम गर्दै जादा अहिले उनले स्कुटी किन्न सफल भएकी छन् । स्कुटी चलाएर आफनो कार्यथलोमा पुग्दा जिवनको एउटा सपना साकार भएको उनलाई महशुस हुने गर्दछ ।
श्री शंकर माध्यामिक बिद्यालय खरदरियाबाट एस.ई.ई.सकेर अहिले देउखुरी बहुमुखी क्याम्पसमा शिक्षा बिषयमा स्नातक तह अध्ययन गरिरहेकी पुनमलाई भविष्यमा आफनो बिकट क्षेत्र राजपुर गाँउपालिका र त्यस क्षेत्रका महिलाहरुको लागि आर्थिक, सामाजिक, सशक्तीकरण तथा परिवर्तनका लागि काम गर्ने ईच्छा छ । यस परियोजनाले आफूलाई आत्म बिश्वासका साथ सकारात्मक सोच लिएर अगाडि बढ्नको लागि अवसर प्रदान गरेकोमा राजपुर गाँउपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङलाई धन्यवाद दिनुभएको छ ।