धनरुपीलाई धन दिने तरकारी खेती
October 2, 2023:
सासु ससुराले गर्दै आएको पेशालाई अगालेर आफनो गुजारा चलाउदै आएकी धनरुपी पुन मगरलाई अरु पेशा गर्नलाई न त रहर नै जाग्यो न त उनको पढाई नै थियो । बि.ए. पास गरेका उनका श्रीमान्ले समेत आफनै काम गर्ने भन्दै जागिर खान मन गरेनन् । घोराही उपमहानगरपालिका वार्ड नम्बर १३ तुरुन्तपुरमा बसोबाँस गर्दै आएकी धनरुपीले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आफनो घरब्यवहार चलाउदै आउनुभएको छ ।
१ छोरा र छोरीको बिहे गर्दिसकेकी धनरुपीले कान्छो छोराको पढाई लेखाईको खर्च, घरको चाँजोपाजो यहि तरकारी खेतीबाट मिलाउदै आउनुभएको छ । आफुले नपढेकै कारण अरु केहि पेशा गर्न नसकेको बताउने धनरुपीलाई तरकारी खेतीका लागि नयाँ प्रबिधियुक्त तालिमहरु लिन पाए अझ धेरै उत्पादन हुन्थ्यो कि भन्ने लाग्छ । परिवारले गर्दै आएको पेशा भनेर शुरुवात गरेता पनी अहिले आयस्रोतको माध्यम तरकारी खेती हो । धनरुपी आजभन्दा १२ बर्ष अगाडि ग्रामीण महिला उत्थान केन्द्र दाङद्धारा गठन गरिएको नयाँ नबिकरण महिला उत्थान केन्द्रको समुहमा सदस्य बन्नुभयो । समुहमा सदस्य बनेपछि घर खर्च तरकारी खेती गर्नका लागि भनेर १० हजार कर्जा लिनुभयो । हाल तरकारी खेती र बाख्रापालन ब्यवसायलाई ब्यवस्थित रुपमा बिस्तार गर्नका लागि उहाँले ७ लाख कर्जा लिनुभएको छ ।
उहाँलाई महिलाहरु समुहमा आवद्ध भयो भने आत्मनिर्भर बन्दै जाने, पैसा बचत गर्ने र बचत गर्नलाई कमाउन सिक्ने रहेछन् भन्ने लाग्छ । घरपरिवारसँगै बसेर ब्यवसायिक तरकारी खेती गर्दा राम्रो पनि छ केहि चुनौती पनि छ किनकी तरकारीले भने जस्तो बजारभाउ नपाउदा र लकडाउनको समयमा तरकारी ब्यवसायबाट घाटा ब्यहोर्नुपर्दा धनरुपीलाई यो पेशा छोड्न मन थियो, तर ताजा र अग्र्यानीक तरकारी खेती भनेपछि फेरी यसको माग बढ्न थाल्यो त्यसै पनि हामी नेपालीहरुको लागि बाँच्ने आधार भनेकै यहि कृषी पेशा रहेछ, यसैलाई मलजल गरेर अगाडि बढ्ने धोको रहेको धनरुपीले भन्नुुभयो । सम्पुर्ण खर्च कटाएर बार्षिक ५ लाख सम्म आम्दानी गर्ने गरेको बताएकी धनरुपीले ७ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । घरमा केहि बाख्राहरु छन् , बाख्राबाट बार्षिक १ लाखसम्म आम्दानी गर्ने गरेको धनरुपीले बताउनुभयो । आगामी दिनमा थप जग्गा भाडामा लिएर बृहत रुपमा ब्यावसायिक तरकारी खेती गर्ने योजना रहेको छ ।
माईतीघर रोल्पा बताउने धनरुपीलाई समाजका अगाडि बोल्न, टाठो बाठो बनाउन र बचत गर्न यहि ग्रामीण महिला उत्थान केन्द्रको समुहले सिकाएको हो, कुनै समय कर्जा भनेपछि डर लाग्थ्यो तर अहिले धनरुपीलाई कर्जा भनेपछि मिहेनत गर्न सिकाउने, केहि गर्न उर्जा दिने माध्यम हो जस्तो लाग्छ । अहिले बजारमा कर्जा माफ गर्ने भन्दै आन्दोलन गर्ने जमात आएको छ, त्यो जमातले मिहनेत गर्छौ भन्नेहरुलाई बिगार्न आएको हो भन्नुहुन्छ धनरुपी । अबका दिनमा संस्थाले तरकारी ब्यवसाय गर्नेहरुलाई नयाँ प्रविधियुक्त तालिम दिए आफुहरु निक्कै आभारी हुने धनरुपीको भनाई रहेको छ ।