थोरै लगानीबाट सफलता हासिल गरेकि अनिता
October 2, 2023:
३५ वर्षकि अनिता चौधरीले थोरै लगानीबाट आफ्नो व्यवसायलाई फस्टाएकि छिन् । लमही नगरपालिका–२, सोनपुर निवासी अनिताको परिवारमा ४ जना सदस्य हुनुहुन्छ । उहाँको ३६ वर्षिय श्रीमान् राजकुमार चौधरी, १६ वर्षको जेठो छोरो आशिष चौधरी, ११ वर्षको कान्छो छोरो आयूष चौधरी र अनिता । सानै उमेरमा विवाह भएकी अनिताको घरपरिवारको आर्थिक स्थिति निकै कमजोर र आम्दानीको श्रोत केहि थिएन ।
घरखर्च र साँझ बिहानको जोहो गर्नलाई श्रीमान्ले मिस्त्री काम गर्नुहुन्थ्यो । जसले गर्दा बिहान र बेलुकाको जोहो हुन्थ्यो । विवाह भएको केहि वर्षपछि २ भाई छोराहरु जन्मिए । समय र परिस्थितिले छोराहरु सानै छँदा सासु ससुराले पनि घरबाट अलग गराई दिनुभयो । अलग हुँदा एउटा खाने थाल मात्र बटाहा परेको थियो । त्यसबेला बस्नलाई घर थिएन, खाना पकाउनलाई भाँडाहरु थिएन, छोराहरु साना थिए, घरको सम्पत्ति पनि धेरै थिएन, साह्रै कष्ट थियो ।
साना छोराहरुलाई पिठ्यूमा बोकेर लेबर मिस्त्री काम गरि साँझ बिहानको छाक दुई जनाले मिलेर बल्ल तल्ल जुटाउँथ्यौं भन्दै अनिता भाव बिह्लि हुनुभयो । यसरी कष्टका दिनहरु बित्दै जाँदा गाउँघरका दिदि बहिनिहरु समुहमा बसेको देखेर अनितालाई पनि समुहमा बस्न मन लाग्यो । आजभन्दा ११ वर्ष पहिले ग्रामीण महिला उत्थान केन्द्रले गठन गरेको समुहमा उहाँ आबद्ध हुनुभयो । दुई जनाले काम गरेर आम्दानी गरेको पैसाबाट घरखर्च छुट्याई थोरै रकम बचत गर्न थाल्नुभयो । बचत गर्दै जाँदा कर्जा पाईन्छ भन्ने थाहा पाएपछि पहिलो पटक अनिताले २० हजार कर्जा लिनुभयो । त्यो कर्जाबाट १० हजारको २ वटा बङ्गुर र १० हजारको मकै, धान किन्नुभयो । त्यसपछि सानो व्यवसायको पनि थालनी गर्नुभयो ।
बङ्गुर किनेको केहि महिनापछि दुई वटाले ११ वटा पाठापाठी जन्माए र तिनलाई केहि समय हुर्काए पछि एउटा पाठो ५ हजारको दरले ८ वटा बङ्गुर बिक्री गरेर रु. ४० हजार नाफा गराउनु भयो । बाँकी ३ वटा ठूलो बनाएर बेच्ने साेंचले घरमा राख्नुभयो । उता जग्गा पनि ठेक्कामा लिएर मकै खेती गर्न थाल्नुभयो । मकै खेतीबाट पनि राम्रो आम्दानी भएर पैसा बचत हुन थाल्यो । छोराहरुलाई पनि पढाउनमा समस्या भएन । ति बङ्गुरका पाठा र मकैबाट आम्दानी हुन थाल्यो । अरु २ वटा बङ्गुर पनि ठूलो बनाई बेच्दा ३०÷३० हजार रुपैयाँका दरले बिक्री भयो ।
यसरी व्यवसाय बढ्दै गएपछि अनिताले घरखर्च र छोराहरुलाई पढाउने पैसा छुट्याएर पनि अहिले २ क ठ्ठा खेत जोड्न सफल हुनु भएको छ । यसरी मकै खेती र बङ्गुरपालन व्यवसायबाट मनग्य आम्दानी भएपछि अहिले फेरि थप ३ कठ््ठा जग्गा किन्न सफल हुनुभएको छ । बङ्गुरले आफनो स्थिति सुधार गर्न थालेपछि झनै उत्साह बढेर अहिले अनिताले १५ कठ्ठा जग्गा भाडामा लिएर मकै खेती समेत गर्न शुरु गरेको बताउनुभयो । मकैबाट घरखर्च छुट्याएर वर्षको ७० हजार रुपैयाँ आम्दानी भएको बताउनुभयो । पैसा जम्मा गर्दै जाँदा अनिताले अहिले बस्ने पक्की घर बनाउन शुरु गरेको पनि बताउनुभयो । श्रीमान्ले अझै पनि मिस्त्री काम गर्दै हुनुहुन्छ, छोराहरु स्कूल पढ्न जान्छन् । “मैले घरको काम सकेर बङ्गुरको खोर सफा गर्ने र तिनीहरुलाई दाना पानी दिएर मकै बारी तिर गई गोडमेल गर्ने र मकैको हेरचाह गर्ने गर्छु । एउटा थाल मात्र लिएर घर छुट्टेका थियौं, एक छाक खाई एक छाक भोकै बसेका दिनहरु पनि याद ताजै छ, त्यसरी पनि दिनहरु बितेका थिए” अनिताले आँखा रसिलो पार्दै आफनो कथा सुनाउनुभयो ।
ग्रामीण महिला उत्थान केन्द्रले बिना धितो दिएको समुह कर्जाले गर्दा नै आज आफूहरु यहाँसम्म आउन सफल भएको पनि बताउनुभयो । कर्जा लिएपछि श्रीमान् श्रीमतिको अथक मेहेनतले नै हामीलाई सफलतातिर लगेको अनिताले बताउनुभयो । आजको दिनसम्म आईपुग्दा घरमा कुनै चिजको समस्या नरहेको बताउने अनिताले आफूलाई फुर्सदमा बस्न मन नलाग्ने पनि बताउनुभयो साथै श्रीमान र म जहिले पनि केहि न केहि काम गरेरै बस्छौ यहि कारणले नै हो हामीलाई आत्मनिर्भर बनाएको र यस्तै मिहेनत गर्दै गयौ भने एक दिन सफल बन्नेछौ भन्दै अन्य दिदिबहिनी तथा घरपरिवारलाई समेत काम गर्न, मिहेनत गर्न कुनै पनि लाज नमान्नका लागि अनिताले अनुरोध समेत गर्नुभयो ।