खाना पकाउन अरुका घरमा पालो कुर्नुपर्ने ती दिन… « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

खाना पकाउन अरुका घरमा पालो कुर्नुपर्ने ती दिन…

Please follow & like us :)

16 Feb,2026

पानी पर्न थाले सबै किसान उत्साहीत हुन्थे, खेतीपातीका लागि जोहो गर्थे तर कैलाशपती चौधरीका लागि पानी कष्ट थियो । पानी प¥यो की उनका दुःखको समय शुरु हुन्थ्यो । पानी घरभित्र पस्थ्यो, अनि भएका सामान, अनाज सबै पानीमा डुबुल्की मार्थे ।
खाना पकाउन पनि नमिल्ने भएपछि उनी बर्षाभर छिमेकी र आफन्तहरुका घरमा पकाउने पालो कुर्न जान्थिन् । ‘घरका मानिसले पकाएर खाइसक्थे अनि मेरो पकाउने पालो आउँथ्यो,’ उनले भनिन्,‘पालो पर्खदा पर्खदै समयमा कहिले पनि खान पाइदैनथ्यो । अरुले खाँदा म कतिबेला पकाइसक्ने होला भनेर सोचिरहन्थें ।’ खाना पकाउन पालो पर्खिरहेको क्षण निकै ह्रदयविदारक हुन्थ्यो ।


मजदूरी गरेर जिविका चलाउने कैलाशपती पानी परेको बेला काममा जान पनि डराउँथिन् । आफू काममा हुँदा घर डुबानमा परेर छोराछोरीले दुःख पाउँछन् की भन्ने चिन्ता हुन्थ्यो । कोही नहुनेको भगवान हुन्छन् भन्ने उनले सुनेकी त थिइन् तर विश्वास गरिहाल्ने अबस्था थिएन । एक दिन यस्तो समय आयो, ग्रामिण महिला उत्थान केन्द्र भगवान झैं घर निर्माणको योजना लिएर उनको घरमा पुग्यो ।
उनको चुहिने र डुबानमा पर्ने घरलाई नयाँ घरले विस्थापित गर्ने भयो । उनी मजदूरी गर्न अरुका घरमा जाने मान्छे अब आफ्नै घरमा काम गर्न थालिन् । उनले आफ्नै घर बनाएर पनि मजदूरी वापतको पारिश्रमिक पनि पाइन् । उनका लागि यो अप्रत्याशित र अपत्यारिलो काम थियो । अरुका घर बनाउन खर्चेको पाखुरीको तागत उनले आफ्नै घरमा खर्चिन् । हेर्दाहेर्दै उनको नयाँ पक्की घर बन्यो ।


ग्रामिण महिला उत्थान केन्द्रले महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण र भूमिमा महिलाको स्वामित्व सचेतना कार्यक्रम अन्तर्गत उनको घर बनाइदियो । संस्थाले ४ लाख २५ हजार र गाउँपालिकाले १ लाख ५० हजार रुपयाँ लगानी गरे । हेर्दाहेर्दै उनको मुहारमा खुशी छायो, धुमधाम कार्यक्रम गरेर उनलाई घर हस्तान्तरण कार्यक्रम भयो । उनी खुशीले नाचिन र सबैसँग सुखको क्षण साटिन् ।

राजपुर गाउँपालिका–२, पश्चिम गैराकी कैलाशपती पाँच छोराछोरीकी आमा हुन् । ४० बर्षीया कैलाशपती अहिले त हजूरआमा समेत बनिसकेकी छिन् । श्रीमान् दिनगुरुप्रसाद चौधरीको राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर पाँच बर्षअघि निधन भयो । त्यसपछि घरको सम्पूर्ण भार उनको काँधमा आयो ।
श्रीमान् घर बनाउने मिस्त्री थिए । उनी श्रीमान्को पछिपछि लागेर घर बनाउने काममा मजदूरी गर्थिन् । अरुको घर बनाउने काम गरे पनि उनीहरुले आफ्नै घर बनाउन भने सकेका थिएनन् । काम गरेको पारिश्रमिकले दैनिक खर्च चलाउन मात्र पुग्थ्यो । घर बनाउन पुग्ने गरी कमाई हुन सकेको थिएन ।


संस्थाको सहयोगमा घर बनेपछि उनी आफैलाई पत्याउन मुश्किल भएको छ । ४० बर्षीया कैलाशपती ५ सन्तानकी आमा हुन् । जेठी छोरी मनिषाको विवाह भएर एक छोरी समेत जन्माइसकेकी छिन् । माइली पार्वतीको पनि विवाह भैसकेको छ । साईली आशु १४ बर्षकी भइन्, उनी ८ कक्षा पढिरहेकी छिन् । कान्छी अनिशा ९ बर्षकी भइन् भने छोरा आशिष ११ बर्षका भए । अहिले उनको साथमा दुई छोरी र एक छोरा छन्।

उनको मजदूरी भर अझै छुटेको छैन । मजदूरी गर्न टाढाटाढा पुग्छिन् । दिनको ५ सय रुपयाँ पाउँछिन् । महिनामा २५ दिन जती काम पाइन्छ । मासिक १२ हजार रुपयाँ कमाई हुन्छ तर चामल, नुन, तेल, सावुन, सरप, कापी किताव किन्दा र औषधि गर्दा सकिन्छ । ‘कहिलेकाहीं नपुगेर ऋण सापटी गरेर खर्च चलाउँछन’ उनले भनिन्,‘काम गरेर तिर्छु । पैंसा बचत भन्ने कहिलै हुँदैन । ज्यान पाल्ने मात्र हुन्छ ।’
चाडपर्व मनाउँदा पनि समय नापी नापी मनाउनुपर्छ । धेरै समय चाडपर्व मनाउन थाले के खाउँ भन्ने हुन्छ । ‘चाडपर्वमा छोराछोरी मिठो खाउँ भन्छन् । अलि अलि मिठो मसिनो खानेकुराको जोहो गर्नुप¥यो,’ उनले भनिन्,‘धेरैदिन चाडपर्व मनाउँछु भन्ने सोच्यो भने फेरी के खाने भन्ने चिन्ता भैहाल्छ । त्यही भएर पर्व पनि नापेर मनाउनुपर्छ ।’


पहिले काममा गएको बेला घरमा छोराछोरी कसरी बसेका होलान् भन्ने चिन्ता थियो । कहिलेकाहीं उनी घर फर्कदा घरभित्र पानी पसेर छोराछोरी रोइरहेका हुन्थे । उनी पनि सँगै बसेर रुन्थिन् अनि फेरी छिमेकीको घरमा ओत लाग्न पुग्थिन् । अब ती कठिन दिनको अन्त्य भएको छ । आफ्नै सुरक्षित घर बनेको छ ।

यो खुशीयाली दिने ग्रामिण महिला उत्थान केन्द्रप्रति कैलाशपती धेरै नै आभारी छिन् । ‘मैले कसरी घर बनाउँथे होला ? कमाएर घर बनाउने कुरा सोच्न पनि सकिदैनथ्यो,’ उनले भनिन्,‘खानलाउन नपुगेको बेला घर बनाउने कुरा त झन धेरै टाढा थियो । यसरी कसैले घर बनाइदिन्छ भन्ने लागेकै थिएन ।’ अब अर्काको घरमा खाना पकाउन पालो कुर्नुपर्ने दिनको अन्त्य भएको छ । सुरक्षित आवास भैसकेपछि कमाउने, खाने र छोराछोरीको शिक्षाको मात्रै चिन्ता छ उनलाई ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026358